राष्ट्रिय सभा सदस्यको १ पदमा उपनिर्वाचन गर्दा १ करोड ६१ लाख खर्च।

मंगलवार १४ बैशाख, २०७८

वैशाख १४, काठमाडौं – राष्ट्रिय सभा सदस्यको १ पदमा उपनिर्वाचन गर्दा १ करोड ६१ लाख ३० हजार खर्च लाग्ने भएको छ । गृहमन्त्रीसमेत रहेका एमाले नेता रामबहादुर थापा ‘बादल’ले पद त्याग गरेसँगै रिक्त बनेको उक्त पदमा उपनिर्वाचन गर्दा यस्तो खर्च लाग्ने भएको हो ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आर्थिक कार्यविधि जारी गर्दै निर्वाचन अनुमानित खर्च सार्वजनिक गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनको लागि अनुमानित गरिएको उक्त बजेट निकासाका लागि आयोगले अर्थमन्त्रालयमा पत्राचार गरिसकेको छ ।

नेता थापाले नेकपा (माओवादी केन्द्र) परित्याग गर्दै नेकपा (एमाले)मा प्रवेश गरेका थिए । पार्टी परित्याग गरेसँगै उनलाई माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट हटाएको थियो ।

पार्टी परित्यागसँगै बागमती प्रदेशबाट निर्वाचित उनको पद रिक्त बनेको थियो । जहाँ निर्वाचन आयोगले आगामी जेठ ६ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।