मुख्यमन्त्री पोखरेलमाथि अर्काे धक्का, मन्त्रीको शपथ खुवाएको केही घण्टामै निलम्बित।

सोमबार ६ बैशाख, २०७८

काठमाडौं – सरकार जोगाउन खतरनाक खेल खेलेर जनता समाजवादी पार्टी (जसपा) नेपाल भित्र विभाजनको बिउ रोपेका मुख्यमन्त्री शंकर पोखरेलको योजना फेल हुने भएको छ ।

मुख्यमन्त्री पोखरेलले प्रलोभनमा परेर मन्त्री बनेका ४ जनालाई जसपाले शपथ खाएको केही घण्टामै निलम्बन गरेको छ ।

संसदीय दलको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका चार सांसदलाई जसपाले निलम्बन गरेको हो ।

जसपाको निर्णय अनुसार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको भए पनि त्यसको केही घण्टामै सरकारमा मन्त्री बनेका ४ जनामाथि जसपाले कारवाही गरेको छ ।

जसपा प्रदेश अध्यक्ष अशोककुमार यादवले प्रेस विज्ञप्ति जारी गरेर चारै जनालाई यथाशीघ्र सरकारबाट फर्किन निर्देशन दिइएको र २४ घण्टे स्पष्टीकरण सोधिएको जनाएका छन् ।

पार्टी निर्णय विपरीत गएकाहरूले चित्तबुझ्दो जवाफ नआएमा सांसद पद नरहने गरी कारवाहीका लागि सम्पूर्ण प्रक्रिया अवलम्बन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसरी मुख्यमन्त्री पोखरेलको पक्षमा लागेकाहरूको सांसद पद नै जाने भएपछि उनी समेत संकटमा पर्ने देखिएका छन् । मुख्यमन्त्रीको पद जोगाउन खतरनाक खेल लेखेका पोखरेललाई धक्का लाग्ने देखिएको छ ।मिडिया डबली बाट।