गृहमन्त्री बादलको सांसद र मन्त्री दुवै पद चैट।

आईतवार ५ बैशाख, २०७८

काठमाडौं- आइतवार राष्ट्रिय सभा सचिवालयले उहाँको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। सांसद पद खारजे भएसँगै मन्त्री पद पनि स्वत खारेज भएको छ ।

नेकपा माओवादी केन्द्रले उहाँलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गर्नुभएको हो ।

थापाले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको असफल प्रयास गरेसँगै विभाजित बनेको तत्कालिन नेकपाभित्र ओली समूहलाई साथ दिनुभएको थियो ।

त्यसपछि २३ फागुनमा सर्वाेच्च अदालतले नेकपा खारेज गरी एमाले र माओवादी पूर्ववत अवस्थामा फर्कने निर्णय गरेपछि उहाँ एमाले नै प्रवेश गरेको घोषणा गर्नुभएको थियो ।

बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थापालाई माओवादीले कारवाही गरेको हो । यससँगै उहाँ अब मन्त्री पदमा पनि रहनुहुने छैन ।

मन्त्री हुनको निम्ती उहाँले पुन: नियुक्ती र शपथ लिनुपर्नेछ । संविधानले सांसद नभएका व्यक्तिलाई पनि ६ महिना मन्त्री हुन पाउने व्यवस्था गरेको छ ।

सोही व्यवस्थालाई टेकेर उहाँ अब अधिकतम ६ महिना मन्त्री बन्न पाउनुहुनेछ । यदि ६ महिना भित्र उपनिर्वाचन भइ सांसद पदमा निर्वाचित भए उहाँको पद रहिरहनेछ । निर्वाचित नभएको खण्डमा ६ महिना पछि उहाँले मन्त्रीमा बस्न पाउनुहुनेछैन ।

२०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो। चिठ्ठा तान्दा उहाँको कार्यकाल ६ वर्ष परेको थियो। ओलीतिर लागेको भनेर पार्टीले कारबाही गरेपछि उहाँको राष्ट्रिय सभा सदस्य तीन वर्षमै सकिएको छ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका ४ जना सांसदहरूको पद पनि खारेज भएको थियो।

मन्त्रीसमेत रहनुभएका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उहाँहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाउनुभएको छ ।

हाल मन्त्रीमण्डलमा ६ जना मन्त्रीहरुको सांसद पद छैन । भट्ट, रायमाझी, साह र चौधरीसँगै मणि थापा र दावा लामा सांसद पद विनै मन्त्री बन्नुभएको छ । गृहमन्त्री रहनुभएका थापाको पनि पुनःनियुक्ती हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।