मानसिक अस्पतालमा ६५ बर्ष बिताएकी अमेरिकी मोडल।

बिहीबार १९ चैत्र, २०७७

एजेन्सी- सन १८९१ मा अमेरिकाको रोचेस्टर शहरमा जन्मेकी आद्रे मुनसन सानैदेखि अभिनेत्री बन्न चाहन्थिन्। १७ वर्षको उमेरमा उनी आफ्नो सपना पूरा गर्न न्युयोर्क शहर पुगिन्।

त्यो समय फिल्म क्षेत्र निकै सानो र प्रवेश गर्नु गाह्रो कुरा थियो। त्यो क्षेत्रमा आफ्ना चिनेका मान्छे कोही नभएको र परिवार पनि सामान्य भएकाले आद्रे जस्ता महिलालाई गाह्रो थियो।

उनी न्युयोर्क त पुगिन्। तर, त्यहाँ गएर के गर्ने उनलाई थाहा थिएन। दैनिकी चलाउन उनले एउटा किराना पसलमा काम गर्न थालेकी थिइन्। एक दिन किनमेलको लागि बाहिर निस्कँदा फोटोग्राफर फेलिक्स बेनेडिक्टले उनलाई देखे र फोटो खिचे। फेलिक्स आद्रेको सुन्दरताबाट निकै आकर्षित भए। र, उनले आद्रेलाई आफ्नो स्टुडियोमा बोलाए। आद्रेको लागि पनि यो सानो घटना थिएन। उनले यहाँबाट नै आफ्नो यात्रा सुरु भएको मान्न थालिन्।

त्यसपछि फेलिक्सले आद्रेलाई इसिडोर कोन्तीसँग भेटाए। अहिले फोग्राफर, फेसन डिजाइनर, कपडाका ब्राण्डलगायत विभिन्न कम्पनीको लागि काम गरे जस्तो त्यो बेला मूर्तिकार, चित्रकारको लागि पोज दिनु मोडलको काम हुन्थ्यो। त्यो बेलाका चर्चित मुर्तिकार कोन्तीको लागि पोज दिनु आद्रेको लागि ठूलो उपलब्धी थियो।

कोन्तीले नै आद्रेलाई पहिलोपटक निर्वस्त्र पोज मागे। आद्रेको लागि त्यो सामान्य कुरा थिएन। आद्रेले आफ्नी आमासँग सल्लाह गरेर मात्रै आफ्नो निर्णय दिने बताइन्। यसमा आद्रेकी आमाको सहमति थिएन। पछि कोन्तीले नै आद्रेकी आमालाई सम्झाए। कोन्तीले ‘आफूहरुको लागि शरीरभन्दा ठूलो कला रहेको र यही एउटा काम आद्रेको करिअरमा पनि कोसेढुंगो सावित हुन सक्ने’ भनेपछि आद्रेकी आमा सहमत भइन्।

कोन्तीसँगको सहकार्यपछि आद्रेलाई चिन्ने मान्छे बढ्दै गए। त्यो बेलामा चल्तीका मोडलहरुमा आद्रे सबैभन्दा धेरै कमाउने र धेरैको रोजाइमा पर्ने मोडल बनिन्। कालान्तरमा उनलाई अमेरिकाको पहिलो सुपरमोडल भनेर चिनिन थाल्यो। 

आद्रेले दिएको पोजमा कोन्तीका धेरै काम कालजयी बने। त्यसपछि उनले धेरै पेन्टर र इलुस्टेटरको लागि पोज दिन थालिन्। एक समय यस्तो आयो जतिबेला आद्रेको आकृतीका मूर्ति र चित्रहरु न्युयोर्क शहरभरि भए। आद्रेलाई चिन्ने र खोज्ने मान्छे बढ्न थाले। विस्तारै अमेरिका र विश्वभर नै कोन्ती र आद्रेलाई चिन्ने मान्छे बढ्न थाले।

सन १९१५ मा अमेरिकाको सन फ्रन्सिस्कोमा भएको ‘पनामा पेसिफिक इन्टरनेशनल एक्सपोजिसन’मा प्रदर्शनमा राखिएका मूर्तिहरुमा पाँच भागको तीन भाग आद्रेकै आकृती भएका कलाहरु थिए। त्यसपछि उनलाई पनामा पेसिफिक गर्ल, मिस एक्सपोजिसन, मिस म्यानहटन जस्ता उपमा दिन थालियो।

फेलिक्ससँगको भेटले उनलाई मोडल बनाएको थियो। तर, उनको फिल्ममा अभिनय गर्ने चाहना भने मरेको थिएन। मोडलिङ सुरु गरेको १० वर्षमा उनलाई फिल्म क्षेत्रका मान्छेले पनि चिन्न थालेका थिए। १९१५ मै जर्ज फोस्टर प्लाटले आद्रेलाई फिल्मको अफर गरे।

त्यसपछि उनको अभिनेत्री बन्ने सपना पनि पूरा भयो, मोडलकै कथा रहेको फिल्म ‘इन्सपिरेसन’बाट। इन्सपिरेसनसहित उनले आफ्नो करिअरमा जम्मा चारवटा साइलेन्ट फिल्म खेलिन्। जसमध्ये एउटा उनकै लेखहरुमा आधारित ‘हिडलेस मथ्स’ पनि हो। जसमा फोटो स्टुडियोमा हुने राम्रा नराम्रा सबै खालका घटनालाई समेटिएको थियो।

पहिलो फिल्मबाटै न्युड सिन दिएकी आद्रे फिल्म खेल्न थालेपछि विवादमा तानिन थालिन्। उनका प्रशंसकसँगै आलोचक पनि बढ्दै गए। सन १९२१ मा उनी बसिरहेको ठाउँका मालिकले आफ्नी श्रीमतीको हत्या गरे। आद्रेसँग विवाह गर्नका लागि श्रीमतीको हत्या गरेको समाचार बाहिर आएपछि आद्रे थप विवादमा तानिइन्।

लगातार विवादमा तानिएकै कारण उनलाई काम पाउन गाह्रो हुन थाल्यो। सन् १९२१ मा प्रदर्शनमा आएको हिडलेस मथ्स नै उनको अन्तिम फिल्म बन्यो। आफूले काम गर्ने ठाउँ, परिवार आफन्त सबैतिरबाट आफ्नो आलोचना मात्रै हुन थालेपछि उनी मानसिक रुपमा पनि अस्वस्थ हुन थालिन्।

सन १९२२ मा उनले पहिलोपटक आत्महत्याको प्रयास गरिन्, जुन सफल हुन सकेन। त्यसपछि पनि धेरै पटक आफूलाई सिद्ध्याउने प्रयास गरेकी उनलाई मनोचिकित्सकको सल्लाहमा सन १९३१ मा सेन्ट लोरेन्स स्टेट हस्पिटलमा भर्ना गरियो। 

१५ वर्ष सक्रिय रुपमा कलाकारिता क्षेत्रमा बिताएकी आद्रेले त्यसपछिको जीवन मानसिक अस्पतालमा बिताइन्। ६५ वर्ष एक्लो जीवन बिताएकी आद्रेले सन १९९६ मा एक सय ४ वर्षको उमेरमा मृत्युवरण गरिन्। त्यतिबेला उनका आफ्ना मान्छे कोही थिएनन्। अस्पतालले आफन्त नभएको बिरामी भन्दै सामान्य चिहान बनाएर आद्रेलाइ पुरिदियो।