ध्रुविकृत माओवादी समूहबीच एकीकरण गर्न किरातीले गरे सबैलाई पत्राचार

बुधबार ११ चैत्र, २०७७

काठमाण्डौं- निर्वाचन आयोगमा नेकपा (माओवादी केन्द्र) दर्ता गरेको पूर्वमन्त्री गोपाल किरातीले सबै माओवादी समूहका नेताहरुलाई एकीकरणका लागि पत्राचार गरेका छन् । किरातीको पत्र पाएपछि प्रचण्ड समूहका नेताहरुले किरातीसँग छलफल अघि बढाइसकेका छन् ।

माओवादी नेता किरातीले पार्टी एकता वा मोर्चाबन्दीका लागि माओवादीका अध्यक्ष प्रचण्ड, जसपाका नेता डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बेग्लाबेग्लै पत्र पठाएर एकताका लागि आह्वान गरेका हुन् ।

किरातीको पत्राचारपछि प्रचण्ड, जनार्दन शर्मा र मात्रिका यादवले केही चरणमा छलफलसमेत चलाइसकेका छन् । किरातीको प्रस्तावमा प्रचण्ड सकारात्मक रहेको भन्दै माओवादी केन्द्रबीच एकीकरण गर्ने प्रस्ताव खुमलटारले राखेको बुझिएको छ । तर, किरातीले भने समाजवादको दिशा स्पष्ट हुनुपर्ने अडान राखेका छन् ।

बाबुराम, मोहन वैद्य र विप्लवबाट भने पत्रको कुनै प्रतिक्रिया आइनसकेको किराती निकट एक नेताले बताए ।