दाहाल-नेपाल पक्षको नेकपा केन्द्रिय सदस्यहरु नागरिक्ता सहित निर्वाचन आयोग जाँदै।

शुक्रबार ७ फाल्गुन, २०७७

काठमाण्डौ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ। बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो।

यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन भनिएको छ।

गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै दुई नेकपा दुई खेमामा विभाजित भएको छ। एउटा खेमाको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र माधवकुमार नेपालले गरेका छन्।

दुवै पक्षले आधिकारिक नेकपा आफू नै रहेको दाबी गर्दै आएका छन्। तर निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगो लगाउन सकेको छैन।